काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सुरु गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धी अनलाइन सेवा अवरुद्ध भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले विद्यार्थीलाई अनलाइन माध्यमबाट ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवाहरू दिने उद्देश्यले सुरु गरेको वेबसाइटमा अहिले समस्या देखिएको छ।

वेबसाइट खोल्दा ‘योर कनेक्सन इज नट प्राइभेट’ भन्ने सन्देश देखापरेको छ, जसको कारण वेबसाइटमा सेक्योर सकेट्स लेयर (एसएसएल) सर्टिफिकेटको मिति समाप्त हुनु हो। एसएसएल सर्टिफिकेटको म्याद समाप्त हुँदा वेबसाइटमा कनेक्सन समस्या देखा पर्ने, र प्रयोगकर्ताले दिने डेटा असुरक्षित हुने अवस्था हुन्छ।

यस समस्याले गर्दा अनलाइन सेवा लिन खोजिरहेका विद्यार्थीहरूलाई बल्खुस्थित पनिका कार्यालयमा भौतिक रूपमा जानुपर्ने बाध्यता उत्पन्न भएको छ। यसअघि पनि पनिकाको अनलाइन सेवा बारम्बार अवरुद्ध हुने समस्या देखिएको थियो।

अहिले यो समस्या समाधान नभएमा विद्यार्थीहरूलाई थप असुविधा हुनसक्ने अनुमान गरिएको छ।