काठमाडौं। ओपनएआईले नि:शुल्क च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि आफ्नो इमेज जेनेरेटिङ मोडल ड्याल-ई थ्रीको पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नि:शुल्क प्रयोगकर्ताहरूले अब प्रतिदिन दुईवटा तस्बिर बनाउन सक्ने जानकारी दिएको छ।

यसअघि, यो सुविधा केवल प्रिमियम च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। प्रयोगकर्ताहरूले सामान्य प्रम्प्ट लेखेर सजिलै तस्बिर तयार गर्न सक्नेछन्।

यो फिचर माइक्रोसफ्टको कोपाइलटमा पनि उपलब्ध छ, जहाँ प्रयोगकर्ताहरूले ड्याल-ई थ्रीको अघिल्लो संस्करण प्रयोग गरेर चित्र बनाउन सक्छन्। माइक्रोसफ्ट कोपाइलटले प्रयोगकर्ताहरूलाई असीमित तस्बिरहरू बनाउन सक्ने सुविधा प्रदान गर्दछ।

ओपनएआईले जनवरी २०२१ मा पहिलो पटक ड्याल-ई मोडल सार्वजनिक गरेको थियो र त्यसयता कम्पनीले विभिन्न एडभान्स्ड मोडलहरू प्रस्तुत गर्दै आएको छ।