काठमाडौं- गाजामा युद्धका कारण विस्थापित व्यक्तिहरूले आश्रय लिइरहेको विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तिमा ९३ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यस आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको ज्यान गएको छ।

इजरायलले पछिल्लो हप्तामा शरणार्थी शिविरहरूलाई लक्ष्य बनाउँदै आक्रमण गरिरहेको छ, जसमा लाखौं विस्थापितहरूले सुरक्षित ठानेर आश्रय लिइरहेका छन्। शनिबार बिहान अल तबिन स्कुलभित्रको मस्जिदमा तीन पटक आक्रमण हुँदा धेरै सर्वसाधारणको मृत्यु भएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ प्यालेस्टिनीको मृत्यु भएको छ र ९१ हजार ७२२ जना घाइते भएका छन्। २३ लाख जनसंख्या रहेको गाजामा ९० प्रतिशतभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

यस युद्धको सुरुवात गत ७ अक्टोबरमा हमास र केही प्यालेस्टिनी समूहद्वारा इजरायलको दक्षिणी क्षेत्रमा भएको आक्रमणपछि भएको थियो, जसमा १२०० जनाको मृत्यु भएको थियो र १० जना नेपालीसहित धेरैलाई बन्धक बनाइएको थियो। इजरायलले आतंकवादी समूहलाई समाप्त पार्ने भन्दै आक्रमण जारी राखेको छ, तर युद्ध अन्त्यका प्रयासहरू अहिलेसम्म असफल भएका छन्।