काठमाडौं – अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै यो कीर्तिमान हासिल गरेको हो।
फ्रान्सको पेरिसस्थित पार्क डे प्रिन्सेसमा भएको यस रोमाञ्चक खेलमा मालोरी स्वान्सनले निर्णायक गोल गर्दै अमेरिकालाई विजयी बनाइन्। खेलको ५७औं मिनेटमा स्वान्सनको गोलले अमेरिकालाई अग्रता दिलायो, जसलाई ब्राजिलले पुरा खेलभरि उल्टाउन सकेन।
यो अमेरिकाको महिला फुटबलमा पाँचौं ओलम्पिक स्वर्ण पदक हो। यसअघि अमेरिकाले सन् १९९६, २००४, २००८, र २०१२ मा पनि स्वर्ण पदक जितिसकेको थियो।
फाइनलमा हार्न पुगेको ब्राजिलले रजत पदकमा चित्त बुझायो, जबकि जर्मनीले कास्य पदक जित्यो। जर्मनीले तेस्रो स्थानका लागि स्पेनविरुद्ध १–० को जित निकाल्दै यो उपलब्धि हासिल गरेको हो।
