काठमाडौं — नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको खेलमैदान, दशरथ रङ्गशालाको अवस्था अहिले सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनियन र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबीच मङ्गलबार भएको एएफसी च्यालेन्ज लिग छनोट अन्तर्गतको खेलमा रङ्गशाला हिलाम्मे भएपछि चर्को आलोचना भइरहेको छ।
खेल सुरु हुनु अघि ठूलो वर्षा भएका कारण रङ्गशालाको मैदानमा पानी जमेर हिलो भएको थियो। यो दृश्यले दर्शक र खेलप्रेमीहरूलाई निराश बनाएको छ, र सामाजिक सञ्जालमा विभिन्न ट्रोल र आलोचनात्मक पोस्टहरू देखिन थालेका छन्। विशेषगरी, यो अवस्था देखेपछि खेल प्रेमीहरूले सामाजिक सञ्जालमा रङ्गशालाको व्यवस्थापनको चर्को आलोचना गर्न थालेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सुरेश बडालले लेखेका छन्, “क्रिकेटमा बलले अप्राकृतिक बाउन्स गर्ने, मैदान खराब हुने अवस्थामा खेलाडीको सुरक्षाका लागि खेल खेलाइँदैन। तर फुटबलमा किन जबरजस्ती हो यो? रोपाइँ गर्ने खेतजस्तो हिलाम्मे मैदानमा खेलाउनु जरुरी थियो र? कुनै मापदण्ड नहुने रहेछ? हेर्नै पीडा हुने खेल हुँदैछ दशरथ रङ्गशालामा।”
‘मिम नेपाल’ नामको मनोरञ्जनात्मक सामग्री राख्ने फेसबुक पेजबाट पनि हिलाम्मे रङ्गशालाको फोटो पोस्ट भएको छ। सो पोस्टमा अधिकांशले सरकारी निकायले यसको जिम्मा लिनुपर्ने धारणा राखेका छन्। केहीले भने गाउँमा असार १५ का दिन खेलाइने फुटबल जस्तो भएको भन्दै व्यङ्ग्य गरेका छन्। मिम पोस्टमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, “अस्ति होन्डाले ट्रेलर मात्र देखेका थिए। आज प्रत्यक्ष फिल्म हेर्दैछन्।”
यसअघि, पारो एफसीका जापानी स्टार केइसुक होन्डाले दशरथ रङ्गशालाको मैदानको स्तरीयता अन्य अन्तर्राष्ट्रिय मैदानहरूसँग तुलना गर्न नसकिने प्रतिक्रिया दिएका थिए। खेलको क्रममा हिलाम्मे मैदानमा खेल्नुपरेको अनुभवले सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको अवस्थाप्रति तीव्र असन्तोष देखिएको छ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले रङ्गशालाको कमजोर ड्रेनेज सिस्टमको आलोचना गरेका छन्, र खेलाडीहरूको सुरक्षामा पनि प्रश्न उठाएका छन्। यसले दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठामा धक्का पुगेको छ।
त्यस्तै, वसन्त नामका एक्स (ट्विटर) प्रयोगकर्ताले लेखेका छन्, “दशरथ रङ्गशाला हो कि भैंसी आहाल बस्ने पोखरी? रातो होन्डा पनि कालो कालो बजाज पल्सर भइसक्यो।”
रङ्गशालाको यस्तो अवस्थामा खेलाडीहरूको सुरक्षा, खेलको गुणस्तर, र नेपालको खेलकुदको छविमा प्रश्न उठिरहेको छ। यो घटना आगामी प्रतियोगिताहरूका लागि पनि चुनौती बनेको छ।
