धनगढी, १ साउन: धनगढी उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न ६ वटा नयाँ बस खरिद गरेको छ। यी बसहरू खरिद गर्न दुई करोड ४८ लाख रुपैयाँ खर्च भएको छ।

उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै बस सेवा सञ्चालनका लागि ठेक्का आह्वान गरेको छ। सूचनामा १० वर्षसम्मका लागि बस सेवा सञ्चालन गर्न ठेक्का लगाइने उल्लेख छ।

सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ न्यूनतम ठेक्का रकम राखिएको छ। ठेक्का लिने पक्षले हरेक वर्ष ठेक्का रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ। पहिलो किस्ता सम्झौता भएको दिन अग्रिम तिर्नुपर्नेछ भने बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्नेछ।

बसको मर्मत सम्भार, इन्धन, चालक र सहचालकको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्नेछ। साथै, बस सेवा तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ।