Post-Earthquake-jajarkot-22-1024x683Photo Credit : फाइल फोटो ।

२ साउन, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छन्।

घाइतेहरूको उद्धारको तयारी भइरहेको र उनीहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने योजना रहेको वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए। ‘सीडीओ साबसँग समन्वय भइरहेको छ, केही समय लाग्न सक्छ,’ उनले भने।

वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ। निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ र उनी हिँड्न नसक्ने अवस्थामा छिन्। ‘पहिले पनि निरमायाको खुट्टाको अपरेशन भएको थियो, अहिले अर्को खुट्टामा पनि चोट लागेपछि उनको अवस्था झन् गम्भीर भएको छ,’ उनले थपे।

गत राति करिब १० बजे पहिरो जाँदा उनीहरू बसेको टहरा क्षतिग्रस्त भएको हो। निरमायालाई बचाउने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेकी थिइन्। ‘तत्कालै बचाउन खोज्दा उनी पनि पहिरोमा परिन्,’ सिंहले बताए।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पले कुशे गाउँपालिकाका ७, ८, र ९ वडामा विशेष क्षति पुर्‍याएको थियो। बसोबास गरिरहेको घर भत्किएपछि गाउँलेहरू अस्थायी टहरामा बसिरहेका छन्।

वडाध्यक्ष सिंहका अनुसार गाउँमा कुनै पनि घर बस्न लायक छैन। पुनर्निर्माणका लागि केन्द्रबाट पर्याप्त चासो नहुँदा पीडितहरूले दोस्रो किस्ता समेत पाउन नसकेको बताए। ‘कार्यविधिका कारण दोस्रो किस्ता दिन नसकिएको छ, पीडितहरू अहिले पनि अस्थायी टहरामा बसिरहेका छन्, यो ठाउँ अझै पनि उच्च जोखिममा छ,’ सिंहले भने।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लालाई मनसुनजन्य विपद्को उच्च जोखिम क्षेत्र घोषणा गरेको छ।