काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताएकी छन्। चलचित्र ‘मोदीबेनी’को रिलिजको सम्मुखमा महायज्ञमा सहभागी भएर आशीर्वाद लिएकी उनले भनिन्, “महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष र दर्शनले मलाई निकै प्रभावित बनाएको छ। महायज्ञलाई सफल बनाउन सबैले पवित्र मन र उद्देश्यले सहयोग गर्नुपर्छ।”

नेपाली चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने भएकाले यसको सफलताका लागि वर्षासहित कलाकारहरू अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठलगायतको टिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आयोजित एक महिने कोटीहोम महायज्ञमा सहभागी भएका थिए।

मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा सम्पन्न महायज्ञमा आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ स्थलमा पुर्‍याएको थियो। कार्यक्रममा कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको चलचित्रलाई आशीर्वाद लिन आएको बताए। यस अवसरमा उनले एक भजन पनि गाउँदै उपस्थितलाई भक्ति भावमा झुमाएका थिए।

महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले पहिलो पटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन प्रार्थना गरेको बताए।

शङ्कर कोइरालाको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् भने उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्। ‘मोदीबेनी’लाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।