काठमाडौँ । हाल देशभर मनसुनको प्रभाव रहँदा मौसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित भएकाले बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
