काठमाडौँ । वैज्ञानिकहरूले बुध ग्रहमा ठूलो मात्रामा हिरा रहेको तथ्य पत्ता लगाएका छन्। हालै गरिएको अध्ययनले बुध ग्रहको सतहमुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ।
चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा सह-लेखक यानहाओ लिनका अनुसार, बुध ग्रहको अत्यधिक उच्च कार्बन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको संकेत गर्दछ। बुध ग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको तुलनामा कमजोर भए पनि, यसमा एक चुम्बकीय क्षेत्र रहेको छ।
नासाको मेसेन्जर अन्तरिक्षयानले बुध ग्रहको सतहमा असामान्य रुपमा काला क्षेत्रहरू पत्ता लगाएको थियो, जसलाई ग्राफाइटको रुपमा पहिचान गरिएको थियो। नेचर कम्युनिकेसन्स पत्रिकामा प्रकाशित शोधमा बुध ग्रहको संरचना तथा असामान्य चुम्बकीय क्षेत्रबारे चर्चा गरिएको छ।
वैज्ञानिकहरूले ग्रहहरूको निर्माण तातो लाभाको महासागर चिसिएर भएको मान्यता राख्छन्। बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्छ। ग्रहको बाहिरी पत्र तथा म्यान्टल म्याग्मा पदार्थ क्रिस्टलमा परिणत हुँदा बनेको हो, जबकि धातुहरू केन्द्रीय कोरको निर्माणमा संलग्न छन्।
२०१९ को एक अध्ययनले बुध ग्रहको म्यान्टल यसअघि अनुमान गरिएभन्दा ८० किलोमिटर गहिरो हुनसक्ने देखायो। जसका कारण म्यान्टल र केन्द्रमण्डलको सीमामा तापमान तथा चापमा वृद्धि हुन्छ, र कार्बन तत्व हिरामा परिणत हुनसक्छ।
बेल्जियम तथा चीनका शोधकर्ताहरूको एक टिमले कार्बन, सिलिका र फलामको प्रयोग गरी रासायनिक मिश्रण तयार पारे। शोधकर्ताहरूले उक्त मिश्रणमा फरक-फरक घनत्वको आइरन सल्फाइड मिसाएर, मल्टिपल एनभिल प्रेसको प्रयोग गरी ७ गिगापास्कलको दबाब दिए। यो चाप समुद्री सतहमा पृथ्वीको वायुमण्डलीय चापभन्दा ७० हजार गुणा धेरै हो, जुन बुध ग्रहको भित्री भागको अवस्थालाई दर्शाउँछ।
कम्प्युटर मोडलको प्रयोग गरी बुध ग्रहको कोर र म्यान्टलको सीमा नजिक तापमान तथा चापको सटीक मापन गरिएको थियो। यसले ग्रहको भित्रको स्थितिको जानकारी प्रदान गर्छ। शोधका क्रममा रासायनिक मिश्रण सल्फर मिसाउँदा अधिक तापमानमा जम्दछ, र यस्तो स्थितिमा हिरा बन्ने सम्भावना हुन्छ।
शोधकर्ताहरूका अनुसार बुध ग्रहको आन्तरिक कोर जम्ने क्रममा हिरा बन्न सक्दछ। यद्यपि बुध ग्रहको भित्री भागमा हिरा भए पनि, ती हिराको उत्खनन सम्भव छैन। बुध ग्रहको सतहभन्दा ४८५ किमी तल रहेको सम्भावित हिरा निकाल्न असम्भव छ।
