चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई बस १६ दिन बित्दा पनि फेला परेका छैनन्। काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस पहिरोले बगाएर त्रिशूलीमा खसालेको थियो। दुबै बसमा ६५ यात्रु सवार थिए, जसमा ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो। अझै ४ जनाको सनाखत हुन सकेको छैन भने बाँकी यात्रु बेपत्ता छन्।

परिवारजनले आफ्नो परम्पराअनुसार दाहसंस्कार गरिसकेका छन्। उनीहरूले १३ औं दिनको काजकिरिया पनि गरिसकेका छन्, तर सुरक्षा निकायले खोजी जारी राखेका छन्।

नेपाल र भारतका सुरक्षाकर्मीहरूले बसको खोजी गर्न विभिन्न प्रविधि र उपाय प्रयोग गरेका छन्। विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले खोजी कार्यमा सहभागी रहेका छन्। भारतीय टोली आइतवार फर्किने तयारीमा छ।

एक सुरक्षा अधिकारीले भने, “हामीलाई यी बसहरू भेटिने सम्भावना निकै कम भएको थाहा छ, तर हामी निरन्तर यसमा लागिरहेका छौं।” बसको खोजीमा दैनिक सयौं सुरक्षाकर्मीहरू परिचालन गरिएको छ, तर पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ।

२०७३ असोज ९ गते पोखराबाट काठमाडौं जाँदै गर्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार मुग्लिनदेखि केही अगाडिको घोप्टेभीरबाट त्रिशूलीमा खसेको थियो। उनले र भाइहरू प्रकाश र मदन पनि नदीमा बेपत्ता भएका थिए। दुई हप्तासम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि सरकारको खोजी कार्य रोकिएको थियो।

यसपालिको घटनामा मध्य बर्खा भएकाले त्रिशूली नदीको पानीको बहाव तीव्र रहेको छ, जसले गर्दा बस भेटिने सम्भावना कम छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले माथिल्लो निकायमा बस भेटिने सम्भावना नरहेको जानकारी गराइसकेको बताए।

भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय प्रयोग गरे पनि बस नभेटिएको प्रतिवेदन दिएर आइतबार फिर्ता हुने भएको छ। खोजीका लागि प्रयोग गरिएको १९ किलोको चुम्बक समेत पानीमा हराएको छ।

नेपालका एक सुरक्षा अधिकारीले भने, “९/९ टनका बस नदीमा हराएका छन्, १९ किलोको चुम्बक हराउनु कुन ठूलो कुरा भयो र?”

खोजी कार्य जारी राख्ने वा रोक्ने भन्ने निर्णय भोलि आउने विश्वास छ।