२२ साउन, काठमाडौं — आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने सम्भावना छ भने धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ। रातिको समयमा विशेष गरी यी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुनेछ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा मानिन्छ। यसले बाढी र पहिरोको खतरा निम्त्याउँछ।

महाशाखाका अनुसार केही दिनसम्म अत्यधिक वर्षा निरन्तर हुनेछ। बाढी र पहिरोको जोखिम उच्च रहेकोले सावधानी अपनाउन महाशाखाले अपिल गरेको छ।

विशेष बुलेटिन जारी गर्दै महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको नजिक रहेको र यसका कारण बुधबारसम्म मनसुन सक्रिय रहने जनाएको छ। यो समय अत्यधिक जोखिमपूर्ण हुने भएकोले प्रतिकार्यका लागि तयार रहन समेत महाशाखाले आग्रह गरेको छ।