सोमबार बिहान जापानको इसिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पले कुनै ठूलो मानवीय वा भौतिक क्षति पुर्याएको छैन र सुनामीको पनि खतरा छैन।
जेएमएका भूकम्पविज्ञ सातोशी हरडाले यो भूकम्प जनवरी १ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको बताएका छन्। सोमबारको भूकम्पपछि ४.८ म्याग्निच्युडको अर्को पराकम्प आएको थियो र दुई घन्टाको अवधिमा थुप्रै पराकम्पहरू महशुस गरिएको छ।
हरडाले क्षति भएका भवनहरू नजिकका मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्। भूकम्पपश्चात् वाजिमाका दुइवटा क्षतिग्रस्त घरमा थप क्षति भएको बताइएको छ।
भूकम्पपछि सुरक्षा जाँचका लागि केहीबेरका लागि रेल सेवा बन्द गरिएको थियो।
