२९ असार, त्रिशूली : २८ असारको बिहान त्रिशूली नदीमा दुर्घटनामा परेका दुई यात्रुवाहक बसका बेपत्ता व्यक्तिहरूको खोजी कार्य सुरु गरिएको छ। खोजी कार्यमा सोनार क्यामरा, वाटर ड्रोन, र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले र्याफ्टबोटमा जडान गरिएको सोनार क्यामराले पानीभित्रको वस्तुहरू हेर्न सहयोग गर्ने बताए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन्।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा असार २८ गते बिहान नारायणी नदीमा खसेका थिए।
