नेपाल आउने विदेशी पर्यटकको १५ प्रतिशत हिस्सा ट्रेकिङ तथा पर्वतारोहणमा संलग्न छ भने ६० प्रतिशतभन्दा बढी वाइल्डलाइफ र पर्यापर्यटनमा। हवाई मार्गबाट आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य काठमाडौँ हो, जहाँ उनीहरू धार्मिक र सांस्कृतिक सम्पदा अवलोकनमा केन्द्रित हुने गर्दछन्। काठमाडौँपछि पोखरा र सौराहा उनीहरूको प्रमुख गन्तव्य हुन्छन्।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार, सन् २०२३ मा हवाई र स्थलमार्ग हुँदै १० लाख १४ हजार ८८२ पर्यटक नेपाल भित्रिएका थिए। तीमध्ये १६ प्रतिशत अर्थात् १ लाख ५४ हजार पर्यटक हिमाल आरोहण तथा ट्रेकिङमा संलग्न भए भने ६२.५० प्रतिशत (६ लाख ३४ हजार भन्दा बढी) पर्यटक बिदा मनाउने उद्देश्यले नेपाल आएका थिए। यी पर्यटकहरू मुख्यतया काठमाडौँ, पोखरा र सौराहामा रमाए।
१३ प्रतिशत अर्थात् १ लाख ३२ हजार धार्मिक पर्यटक काठमाडौँको पशुपतिनाथ र लुम्बिनी पुगेका थिए भने नगण्य मात्रामा विदेशी पर्यटक मुक्तिनाथ, पाथीभरा, जनकपुरको जानकी मन्दिर जस्ता क्षेत्रमा पुगेका थिए।
आर्थिक वर्ष २०८०/८१ मा हवाई र स्थलमार्ग गरी करिब २८ लाख पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। सन् २०२३ मा ३ लाख १९ हजारभन्दा बढी भारतीय पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए भने स्थलमार्ग हुँदै आउनेको संख्या यसको चार गुणाभन्दा बढी थियो।
नेपालले पर्यटकीय गन्तव्यको विकास र प्रचारप्रसारमा समुचित प्रगति गर्न नसकेको बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन्। उनका अनुसार, तीन वटै तहका सरकारहरूले सम्भावित पर्यटकीय गन्तव्यहरूको विकास र प्रचारप्रसारमा समन्वय गर्नुपर्ने आवश्यकता छ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र, पशुपतिनाथ मन्दिर (काठमाडौँ), लुम्बिनी बुद्ध सर्किट, मनास्लु, मुस्ताङ, हुम्ला, तल्लो डोल्पा, कञ्चनजङ्घा र माथिल्लो डोल्पा ट्रेकिङ, पोखरा, र सौराहा पर्छन्।
हालको अवस्थामै वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने होटल पूर्वाधार नेपालमा विकसित भइसकेको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन्। उनले होटल क्षेत्रमा अझै लगानी बढ्दै गरेको र यसले पर्यटक अभावको मात्र समस्या भएको बताए।

नेपाल राष्ट्र बैंकका अनुसार, २०८१ जेठ मसान्तसम्ममा पर्यटनबाट ७६ अर्ब ५५ करोड २२ लाख रुपैयाँ आम्दानी भएको छ। हालै गरिएको सर्वेक्षणले विदेशी पर्यटकको नेपाल बसाइ औसतमा १३.२ दिन रहने गरेको र दैनिक खर्च औसत करिब ८६ अमेरिकी डलर रहेको देखाएको छ।
यसरी नेपालमा पर्यटनको सम्भावना धेरै भए पनि नयाँ गन्तव्यहरूको विकास र प्रचारप्रसारको आवश्यकता देखिन्छ। तीनै तहका सरकारले यसमा सहकार्य गर्नुपर्ने र नेपाललाई साहसिक, खेलकुद, क्यासिनो तथा म्यारिज डेस्टिनेशनका रूपमा समेत प्रचारप्रसार गर्न सकिने देखिन्छ।
