८ साउन, काठमाडौं । काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बाढीको जोखिम बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पर्वतको कार्कीनेटामा भएको छ, जहाँ ८५.६ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौंमा नैकाप, सुन्दरीजल, कपन, र बबरमहलमा पनि भारी वर्षा भएको छ, जसमा क्रमशः ५४, ५२.८, ५२.२, र ५१ मिलिमिटर वर्षा मापन भएको छ। पानीपोखरी वर्षामापन केन्द्रमा ३०.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्ने र यात्रा गर्नेहरुलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ।
ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ, जहाँ पछिल्लो ६ घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ। भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ।
