काठमाडौँ । गत असार १३ गते माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै विभिन्न त्रुटिहरू उजागर भएका छन्, जसले विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पारेको छ। यस समाचारमा त्रुटिहरूका कारण र तिनीहरूको प्रभावलाई समेटिएको छ।
नतिजामा खेलबाड
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझे पुनर्योग (रि–टोटलिङ) को व्यवस्था गरेको छ । पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएकोमा ११ हजार ४२६ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । सार्वजनिक भएको पुनर्योगको नतिजा अनुसार हालसम ५.४३ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको छ । जसमा एनजी आएका १० जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ । तर, राम्रो ग्रेड आएर पुनर्योग गराउँदा कम ग्रेड भने आएको देखिँदैन । १०५ जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ ।
रि–टोटलिङको लागि आवेदन सङ्ख्या – १८,६१२ जना ।
हालसम्म रि–टोटलिङ गरिएको सङ्ख्या – ११,४२६ जना ।
हालसम्म नतिजा परिवर्तन – ६२१ जना ।
चार जीपीए ल्याउने विद्यार्थी सङ्ख्या – १०५ जना ।
एनजी आएर चार जीपीए ल्याउने सङ्ख्या – १० जना ।
एनजी आएर परिवर्तन भएको नतिजा –
के कारणले नतिजामा त्रुटि भयो ?
विगतका वर्षहरूमा थोरै सङ्ख्यामा पुनर्योगका लागि आवेदन दिने गरेका थिए । तर, २०८० सालको नतिजामा धेरै सङ्ख्यामा आवेदन परेका हुन् । पुनर्योगका लागि आएका आवेदनहरूमा त्रुटिसमेत भेटिने गरेको छ ।
आखिर किन धेरै त्रुटि भयो ? राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले विभिन्न खालका त्रुटि हुने गरेको बताए । त्रुटि हुनुमा विभिन्न फ्याक्टरले काम गर्ने उनको भनाइ छ ।
‘कापी परीक्षणदेखि नम्बर कम्प्युटरमा राख्दासम्म त्रुटि हुन्छन् । यसमा विद्यार्थीका गल्ती, शिक्षकका गल्ती, कर्मचारीका गल्ती देखिन्छन् । लामो प्रक्रिया भएकाले समस्या हुने हो,’ उनले भने ।
ठुलो सङ्ख्यामा काम गर्दा १/÷२ अङ्कले पनि फरक पर्ने भन्दै उनले बाहिर भने धेरै समस्यै भयो जस्तो गरी कुरा उठ्ने गरेको बताए । पुनः चेकको काम भइरहेको र के कस्तो त्रुटि भेटिन्छन्, त्यसमा पहिचान गर्दै आएको उनको भनाइ छ । पुरक परीक्षा अगावै पुनर्योगको नतिजा सक्नेगरी काम गरिरहेको उनले प्रस्ट पारे ।
उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो, अनुसन्धान गर्छौं : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले बोर्डसँग छलफल गर्दा परीक्षण तथा अङ्क चढाउने गर्दा समस्या हुने गरेको बताइन् ।
अब पूरक परीक्षापछि बोर्डको लापरवाहीबारे अध्ययन गरिने उनको भनाइ थियो ।
‘चेकिङमा इरर छ । पोष्टिङ गर्दा, इण्ट्री गर्दा इरर देखियो । पूरक परीक्षापछि बोर्डसँग बसेर कसको कमजोरीले यसरी विद्यार्थीको नतिजा लापरवाही भएको हो ? पत्ता लगाउन भनिसकेको छ,’ उनले भनिन्, ‘कारबाही गर्नुपर्ने हो कि के गर्नुपर्ने हो गर्छौँ । बोर्डलाई नै पुनसंरचना गर्नुपर्ने हो कि, त्यहाँ अपर्याप्त भएका कुराहरू के के हुन्, जसले गर्दा यस्ता इरर आउने स्थिति बन्यो । त्यसमा रिभ्यू गरेर जाने भन्ने हिसाबले केही निर्णय गरेका छौँ ।’
यो विषयमा मन्त्रालय गम्भीरताका साथ लागिरहेको उनको भनाइ थियो ।
