काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ।
दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो। भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ। भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो।
पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन। ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए। त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो। त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो।
दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो। त्यसपछि १०–५ ले नेपाल पछि पर्यो। नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो। प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो। २४–११ मा भारतले अग्रता बनाउँदा नेपालले लगातार ३ अंक जोड्यो। तर पनि नेपाल भारतभन्दा १० अंक पछाडि भयो। दोस्रो सेट नेपालले २५–१४ ले गुमायो।
तेस्रो सेटको पनि सुरुवातमा नेपालले लगातार ३ अंक जोड्यो। भारतले ५ मा आएर बराबरमा ल्यायो। नेपालले १७–१२ को अग्रता लियो। २०–१५ मा नेपालले अग्रता लियो। तेस्रो सेट नेपालले २५–२२ले जित हात पार्यो।
चौथो सेटमा भारतले लगातार २ वटा सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक ल्यायो। भारत ११–८ ले अग्रता लियो। नेपालले भारतलाई पछ्याउँदै १७–१५ को अवस्थामा खेल ल्यायो। तर सेट भने २५–२१ ले भारतले जित्यो। यो सँगै खेल पाँचौं सेटमा लम्बिएको हो।
पाँचौं सेटमा नेपाल ८–२ ले पछि पर्यो। कोर्ट परिवर्तन गरेपछि भारतले पाँचौं सेट १५–५ मा जित्दै उपाधि जितेको हो।
भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो।
